
मीरा बस्नेत (इमेज)
काठमाडौं, वैशाख २७ । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको ‘लकडाउन’ जेठ ५ गतेसम्मका लागि बढाएको छ ।
उपत्यकामा भने पछिल्लो समय कोरोना संक्रमित नरहेको विश्वास गर्दै सरकारले लकडाउन खुकुलो बनाएको छ ।
तर, विज्ञहरु भने उपत्यकालाई कोरोना जोखिममुक्त भन्नु हतार हुने बताउँछन् ।
यही वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्मको लागि लकडाउन बढाएपनि सुरक्षात्मक उपाय अपनाएर औद्योगिक उत्पादन तथा वितरण खुला गर्ने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय नयाँ संक्रमित नभेटिएकाले उपत्यकामा लकडाउन कायमै राख्ने कि खोल्ने भन्ने अलमलमा परेको सरकारले उपत्यकामा पनि लकडाउन खुकुलो बनाइरहेको छ ।
आइतबारबाट अतिआवश्यक सरकारी कार्यलयहरुसमेत खुल्दैछन् ।
काठमाडौंका सडकहरुमा सवारी–साधनको चाप बढ्न थालेको छ भने उपत्यकाबाहिरबाट पनि लुकिछिपी भित्रिनेक्रम रोकिएको छैन ।
त्यसो भए उपत्यका कोरोना जोखिमबाट मुक्त भएको हो त ? विज्ञहरु भने उपत्यकालाई जोखिममुक्त ठान्नु गलत हुने चेतावनी दिइरहेका छन् ।
उपत्यकाका तीन जिल्लामा गरी अहिलेसम्म ‘पीसीआर’ प्रविधिबाट जम्मा ७३५ र ‘आरडीटी’बाट तीन हजार ३७९ जनाको कोरोना परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको हिसाबमा यो निकै कम परीक्षण हो ।
जनस्वास्थ्यविद् पदमबहादुर चन्द उपत्यकामा संक्रमणको जोखिम कहाँ छ भन्ने पत्ता लगाउनुपर्ने बताउँछन् । अध्ययन नै नगरी बन्दाबन्दीलाई खुकुलो बनाउन नहुने उनको सुझाव छ ।
यता, स्वास्थ्य मन्त्रालय मातहत रहेको स्वास्थ्य सेवा विभागको भने काठमाडौं उपत्यका सुरक्षित भएको दाबी छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ काठमाडौंमा पनि धेरैमा परीक्षण गरिएको र ‘पोजिटिभ केस’हरु नभएकोले सुरक्षित भएको तर्क गर्छन् ।
काठमाडौंमा जति संख्यामा कोरोना परीक्षण हुनुपर्ने थियो, त्यो नगरी अनुमानको भरमा बन्दाबन्दीलाई खकुलो बनाउनु घातक पनि हुनसक्छ ।
तसर्थ, सरकारले धेरैभन्दा धेरै परीक्षण गराउनेतर्फ ध्यान दिन जरुरी छ । ताकी संक्रमणले महामारीको रुप लिन नपाओस् ।
प्रतिक्रिया दिनुहोस्