सांसद भट्टराईको प्रश्न – गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबल्न हुन्छ ? « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


सांसद भट्टराईको प्रश्न – गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबल्न हुन्छ ?


1.781k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराउनुभएको आरोप लगाउनुभयो । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उहाँले माग गर्नुभयो । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँले बताउनुभयो । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गर्नुभयो । लोकतन्त्रको मूल्य, मान्यता र संसदीय परम्परा अनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँले बताउनुभयो । प्रतिपक्ष दलबाट सभापति बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनी समेत दिनुभयो ।

उहाँले नागरिकता सम्बन्धी विधेयक फाष्टट्रयाकमा पारित गरेर नागरिकता बिहीनहरुलाई नागरिकता दिलाउनुपर्ने बताउनुभयो ।