
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख २६ । किटको अभावले यतिबेला विभिन्न स्थानमा कोरोनाको परीक्षण रोकिएको छ ।
तर, सरकारले सबै सांसद र संसदका कर्मचारी गरी झन्डै ५०० जनाको कोरोनाको परीक्षण गर्यो ।
यसअघि, संसदका समिति बसिरहेका थिए । तर, सांसदको परीक्षण गरिएको थिएन ।
कोरोनाको ‘हटस्पट’मा किट छैन भनेर सांसदहरुको परीक्षण गर्दा सर्वसाधारणले असन्तुष्टि व्यक्ति गरेका छन् ।
संक्रमितको संख्या बढ्दै जाँदा पनि सरकारले परीक्षणको दायरा फराकिलो बनाउन सकेको छैन । किट अभावले विभिन्न स्थानमा परीक्षण रोकिएको छ ।
चीनबाट ल्याउने भनिएको स्वास्थ्य सामग्री आउन अझै साता दिन पर्खनुपर्ने भएको छ । जसका कारण परीक्षण प्रभावित बनेको छ ।
संक्रमणको हटस्पट मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा किट अभावले आवश्यक परीक्षण नै भएको छैन । यस्तो समयमा सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गर्यो ।
सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने किट अभाव भएको समयमा सांसदहरुको परीक्षण गर्ने ‘रि–एजेन्ट’ कसरी आयो ? जोखिमयुक्त ठाउँमा परीक्षण रोकेर सांसदहरुको परीक्षण किन भयो ? भनेर सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।
सरकारले सर्वसाधारणको भने ‘ट्राभल हिस्ट्री’ र लक्षण हेरेरमात्र परीक्षण गर्ने गरेको छ । अन्य व्यक्तिको अझैपनि परीक्षण हुँदैन, अस्पतालहरुले घरै पठाउने गर्छन् ।
यस्तो अवस्थामा सांसदहरुको स्वास्थ्य परीक्षण कत्तिको आवश्यक थियो ? भनेर प्रश्न उठेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पनि संक्रमण नियन्त्रण गर्न अग्रभागमा खटिएका चिकित्सक र जोखिममा परेका सर्वसाधारणलाई बेवास्ता गरेर सांसदहरुमा कोरोनाको परीक्षण गर्नु औचित्यपूर्ण नभएको जिकिर गर्छन् ।
तर, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने झन्डै ५०० व्यक्ति जम्मा हुने ठाउँमा परीक्षण आवश्यक रहेको भन्दै यसको बचाउ गरे ।
यसअघि संघीय संसदका समितिहरु सुरु भइसकेका थिए । त्यसका लागि भने सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको थिएन ।
परीक्षणविना समितिको बैठक बस्न हुने तर संसद सुरु गराउन जोखिमयुक्त ठाउँका सर्वसाधारणलाई बेवास्ता गर्दै सांसदहरुलाई प्राथमिकता दिएकोप्रति सरकारले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्