Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


काठमाडौंमा फोहोर उद्योग कारखाना

कामपा ५० रोपनीको प्लट खोज्दै

5.8k
Shares

काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो । कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।

कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिनुभएको छ । उहाँका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ । ‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भन्नुभयो – ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’

कामपाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताउनुभयो। ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छांै । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भन्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।