Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


गुटमा जकडिएको राजनीति


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, वैशाख २६ । सत्तारुढ दल नेकपाभित्र यतिबेला गुटगत राजनीतिको चलखेल प्रष्टरुपमा देखिने गरी चलिरहेको छ ।

प्रधानमन्त्रीलाई नै फेर्ने कसरतले नेकपाभित्र गुटगत राजनीति कति मौलाएको रहेछ भन्ने स्पस्ट हुन्छ ।

नेकपामात्रै होइन, नेपालका कुनैपनि दल गुटबन्दीबाट अछुतो छैनन् । यो त नानीदेखिकै बानीजस्तै बनेको छ । जसले दललाई मात्रै होइन, नेतृत्वलाई नै कमजोर बनाएको छ ।

पार्टीको नीति तथा कार्यक्रम, सैद्धान्तिक र राजनीतिक विचारधारालाई लिएर हुने छलफलमा राजनीतिक दलभित्र हुने गुटबन्दीलाई स्वाभाविक नै मान्न सकिएला । तर, पद र प्रतिष्ठामा जोडिएर गरिने गुटगत राजनीतिलाई स्वस्थकर मान्न सकिन्न ।

यतिबेला नेपालका सबै दल गुटगत राजनीतिमा जकडिएका छन् ।

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष छन् । उपाध्यक्ष वामदेव गौतम पनि अब पार्टीभित्र गुट बनाउँछु भन्दै कुर्लन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच शक्तिसंघर्ष चल्ने गर्दछ ।

पूर्वपञ्चहरुको दल राप्रपामा त गुटगत राजनीतिको कारणले जुट्नु र फुट्नु सामान्यजस्तै भइसक्यो ।

मधेसवादी दलको अवस्था पनि उस्तै छ ।

राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं पार्टीभित्र ‘बार्गेनिङ’को लागि प्रभावशाली नेताहरुले गुटको राजनीति गर्ने बताउँछन् ।

पछिल्लो समय जनमतबाट अस्वीकृत भएपनि पार्टीपंक्तिमा शक्तिशाली बन्न खोज्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ताखाले प्रतिस्पर्धाले सिंगो पार्टी नै निजी गुटहरुको महासंघ बन्ने प्रसाईंको बुझाइ छ ।

अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने पार्टी र विचारको विषयमा भएको छलफललाई गुटको रुपमा बुझ्न नहुने भन्दै गुटको खेती गर्नेहरु आफैं समाप्त हुने बताउँछन् ।

नेताहरु गुटगत राजनीतिमा लाग्दा पार्टी त बिग्रन्छ नै मुलुकको मुल मुद्दा पनि ओझेलमा पर्छ । जसको उदाहारण पछिल्लो समयको नेपाली राजनीतिले दर्शाइरहेको छ ।