Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


‘निर्वाचनमा तालमेल हुन्छ’


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई साथमा लिएर आगामी निर्वाचनमा जानुपर्ने धारणा राख्दै देउवाले भने, ‘निर्वाचनमा तालमेल गरेर जाने हो, त्यसैअनुसार लाग्नुहोला।’ विगतमा कांग्रेसले एक्लै पनि निर्वाचनमा प्रतिस्पर्धा गरेको स्मरण गराउँदै सभापति देउवाले त्यसको परिणाम सबैको सामु रहेको बताएका थिए। अहिले माओवादीलाई मात्र नभएर चुनावी तालमेल गर्नुपर्ने बाध्यता कांग्रेसलाई पनि रहेको धारणा राखेका देउवाले दलहरूबीचको एकता र सहमतिमै अघि बढ्नुपर्ने बताए।

आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो दलका रूपमा स्थापित गर्ने र मुलुकको आर्थिक विकास गर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको जिकिर देउवाले गरेका थिए। पार्टीभित्र बृहत् एकता र सहकार्यका लागि आफू तयार रहेको भन्दै उनले आन्तरिक छलफल र भेला पार्टीको फोरमभन्दा बाहिर नगर्न पनि नेताहरूलाई आग्रह गरे। लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको आफ्नो निष्ठाप्रति शंका नगर्न आग्रह गर्दै देउवाले भने, ‘डेमोक्रेसीप्रतिको मेरो निष्ठामाथि कसैले प्रश्न उठाउँछ भने मलाई त्यो सह्य छैन। मैले पनि अरूका विषयमा बोल्नुपर्ने हुन्छ।’ उनले सबै मिलेर पार्टीलाई राम्रो र बलियो बनाउनुपर्ने धारणा राखेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।