मीरा बस्नेत (इमेज)
काठमाडौं, वैशाख २५ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा केही दिनयता दैनिक वर्षा भइरहेको छ ।
चर्को घाम र गर्मीले अत्याउनुपर्ने वैशाख महिनासमेत निरन्तर वर्षाका कारण जाडोयामजस्तो छ ।
पानीमात्रै बढी परेको नभइ विगतका वर्षहरुको तुलनामा तापक्रम पनि औसतभन्दा कम रहेको विज्ञहरुले बताएका छन् ।
नेपालमा अघिल्ला वर्षहरुमा यतिबेला निकै गर्मी भइसक्थ्यो । तर, यसपालि भने नेपालमा गर्मीको अनुभव नै गरिएको छैन ।
हिँउदेयामको अन्त्यसँगै फागुनबाटै वातावरण न्यानो हुनुपर्ने थियो । तर, यसपालि भने वैशाख बितिसक्न लाग्दासम्म पनि जाडोले छाडेको छैन ।
उपत्यकासहित देशका विभिन्न भागहरुमा केही सातादेखि केहीबेर घाम लाग्ने र पानी पर्नेक्रम चलिरहेको छ । अघिल्ला वर्षहरुको तुलनामा गत चैतमै धेरै वर्षा भइसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार यसपालि नेपालका अधिकांश भागहरूमा अप्रिल र मे महिनाको सुरुआतमै विगत वर्षको औसतभन्दा बढी वर्षा भएको छ भने तापक्रम पनि कम मापन भएको छ ।
मौसमविद् मीनकुमार अर्याल प्रि–मनसुन सक्रिय भएकाले पनि धेरै वर्षा भइरहेको बताउँछन् ।
यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायमै रहेको उनको भनाइ छ ।
सामान्यतः विगत वर्षहरुमा यतिबेलासम्म पश्चिमी वायु उत्तरतर्फ लागिसकेको हुन्थ्यो । तर, यसपालि अझै उत्तरतिर नलागेकाले वर्षा भइरहेको र चिसो पनि कायमै रहेको हो ।
मौसमविद् अर्यालकाअनुसार हाल देशमा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव, स्थानीय वायु, पूर्वी भू–भागनजिक बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।
कोरोनाको कहरसँग जुधिरहेको बेला मौसमसमेत प्रतिकूल भएर आवश्यकभन्दा अधिक वर्षा हुँदा बालीनालीमा समेत असर गर्ने हो कि भन्ने चिन्ता पनि बढेको छ ।









प्रतिक्रिया दिनुहोस्