गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, वैशाख २५ । शुक्रबार (भोलि)बाट सुरु हुने संसदको बजेट अधिवेशनअघि बिहीबार सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
कोरोना महामारीकाबीच सुरु हुने यो अधिवेशनका लागि विभिन्न जिल्लाबाट सांसदहरु आएपछि सिंगो संसदको सुरक्षाका लागि परीक्षण गरिएको हो ।
संघीय संसद भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान साढे १० बजे सुरुमा राष्ट्रियसभाका सांसदहरु र त्यसलगत्तै प्रतिनिधिसभाका सांसदहरुको पालैपालो स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलनका लागि सांसदहरुको विवरण संकलन गर्न तीनओटा डेस्कको व्यवस्था गरिएको थियो ।
जनस्वास्थ्य विभागका विज्ञहरूले सामाजिक दूरी कायम गरी स्वाब संकलन गरेका थिए ।
शुक्रबार सुरु हुने बजेट अधिवेशनमा विभिन्न जिल्लामा रहेका सांसदहरुसमेत काठमाडौं आएकाले पीसीआर परीक्षण जरुरी रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
यता, पीसीआर टेस्टमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापाले सिंगो संसदको सुरक्षाका लागि पनि कोरोना परीक्षण आवश्यक रहेको प्रतिक्रिया दिए ।
नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो परीक्षण नतिजालाई लिएर चिन्ता व्यक्त गरे ।
सांसद र कर्मचारीसमेत गरी ५०० जनाको बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ जना सांसद छन् ।
शुक्रबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ ।
कोरोना जोखिमको पूर्वतयारीस्वरुप सांसदहरुको गरिएको यो परीक्षणको नतिजा पनि शुक्रबार नै आउने छ ।









प्रतिक्रिया दिनुहोस्