प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी


1.365k
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताको लागि दिइएको समयसीमाभित्र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम र नेकपा (एमाले)बाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।

भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उपसभामुखको निर्वाचन भने शुक्रबार हुँदैछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २६६ जनाले मतदान गर्न पाउँछन् ।

उपसभामुख जित्नका लागि १३४ मत आवश्यक पर्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् ।

जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।