सिन्धुलीमा सडक दुर्घटनाका कारण ४४ जनाको मृत्यु, ५१० घाइते « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


सिन्धुलीमा सडक दुर्घटनाका कारण ४४ जनाको मृत्यु, ५१० घाइते


1.963k
Shares

सिन्धुली । सिन्धुलीमा सडक दुर्घटनाका कारण एक वर्षमा ४४ जना मानिसको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा वीपी, मदन भण्डारी र मध्यपहाडी सडकमा सवारी दुर्घटनामा परि एक वर्षकाेमा ४४ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७८/ ७९ को जेठ मसान्तसम्ममा जिल्लामा २ सय ७१ दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएकाे छ । साेही अवधिमा दुर्घटनाबाट १ सय ५० गम्भीर र ३ सय ६० जना मानिस सामान्य घाइते भएका छन् ।

सोही अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमता भन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढदो सवारी चापका कारण दुघर्टना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्लामा भएका सवारी दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको ट्राफिक प्रहरीले बताएकाे छ । सिन्धुली जिल्ला सबै भन्दा बढी दुर्घटना मोटरसाइकल, साना चार पांग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् भने, अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । वीपी राजमार्गमा तीव्र गतिमा चल्ने हाइसको कारण दुर्घटनाको जोखिम बढेको छ ।