
काठमाडौं । विश्वकप लिग ‘टु’ क्रिकेटमा आज बुधबार नेपालले स्कटल्याण्डको सामना गर्नेछ ।
नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग नेपाली समय अनुसार दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्ने छ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग ४० रनले हारेको नेपाललाई बुधबारको खेल जित्नैपर्ने दबाब छ ।
बुधबारको खेल जितेको खण्डमा नेपालले लिग टु क्रिकेटको अंक तालिकामा पाँचौ स्थानको नामिबियालाई उछिन्नेछ भने खेल हारेको खण्डमा नेपाल तालिकाको छैटौं स्थानमै रहनेछ ।
अंक तालिकामा नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ । एक खेल बढी खेलेको नेपालको १५ अंक मात्रै छ । स्कटल्याण्ड भने २१ खेलबाट ३० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
शिर्ष स्थानको ओमानले ३६ खेलबाट ४४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्