
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीमा सुरु भएको छ ।
बैठकमा भट्टराईले पार्टी रुपान्तरण÷पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रतिवदेनमा भट्टराईले आफूहरुको राजनीतिक यात्रामा अनौठो मोड आएको उल्लेख गर्दै भेलाबाट पार्टी पुनर्गठनको कार्यभारलाई अघि बढाउनु पर्ने हुन सक्ने बताउनुभएको छ ।
प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ । भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएको भए पनि कार्यान्वयनका क्रममा बुझाइमा एकरुपता नभएको उहाँले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
भट्टराईले जसपाको अर्को समस्याको रुपमा संगठनात्मक समस्या रहेको बताउनुभएको छ । समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको उहाँको आरोप छ । पार्टीको नेतृत्व एकल हुने कि सामूहिक भन्ने विषयमा मतभेद देखिएको भन्दै प्रतिवेदनमा महत्वपूर्ण विषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनुपर्ने भए पनि अध्यक्षमा त्यस्तो रुची नदेखिएको उल्लेख छ ।
भट्टराईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि पनि प्रश्न उठाउनु भएको छ । यादवले पार्टीको कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएको निर्णय र रुलिङलाई माइन्युट गर्न पनि अनिच्छा देखाएको र आपसमा समन्वय नगरेको उहाँको निष्कर्ष छ । पार्टी एकताको करिब ३ बर्षमा पार्टीको आर्थिक जीवन, आयस्रोत, व्ययको शीर्षकबारे कहिल्यै कुनै बैठकको एजेण्डा नै नबनेको प्रतिवेदनमा लेखिएको छ । पार्टीले नेतृत्व लिएको मधेश प्रदेश र स्थानीय तहहरुमा कार्यसम्पादन र सुशासनमा ध्यान नदिएको भट्टराईको आरोप छ ।
कतिपय कुटनीतिक सवाल र बिशेषतः एमसीसी प्रकरणले पार्टीको मूलपंक्तिमै देशको भूराजनीति र परराष्ट्र नीति संचालनबारे फरक सोच देखिएको प्रतिवेदनको निष्कर्ष छ । पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्