Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


बिरामीको बहानामा एम्बुलेन्स चढेर मानिसहरु काठमाडौं भित्रँदै (भिडियो)


182
Shares

दीपक श्रेष्ठ, गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, वैशाख २४ । एम्बुलेन्सको काम बिरामीमात्र बोक्ने हो भन्ने सबैलाई थाहा नै छ । एम्बुलेन्सको दुरुपयोग भएका घटना नौलो पनि होइनन् ।

पछिल्लो समय कोरोनाको संक्रमणको त्रासले सरकारले ‘लकडाउन’ जारी गरेसँगै फेरि एम्बुलेन्सको दुरुपयोग हुनेक्रम पुनः दोहोरिन थालेको छ ।

लकडाउन जारी रहेका बेला पछिल्लो डेढ महिनामा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा बिरामी बोकेर विभिन्न जिल्लाबाट काठमाडौं भित्रने एम्बुलेन्सको संख्या दैनिक बढिरहेको छ ।

दैनिक करिब १०० देखि १५० ओटा एम्बुलेन्स बिरामी बोकेर काठमाडौं भित्रने गरेको प्रहरीको तथ्यांक छ ।

मुलुक लकडाउनमा रहेको अवस्थामा गम्भीर प्रकृतिका बिरामीमात्र नभइ सामान्य बिरामी पनि काठमाडौं भित्रनेक्रम तीव्र भएको छ ।

सरकारले लकडाउन सुरु गर्दा महामारी फैलने त्रासले काठमाडौं छोड्नेहरु यतिबेला विभिन्न बहानामा काठमाडौं फर्किन थालेका छन् । त्यसका लागि उनीहरुले एम्बुलेन्सलाई मुख्य हतियार बनाउने गरेको प्रहरीको भनाइ छ ।

काठमाडौं भित्रने एम्बुलेन्सलाई विभिन्न नाकामा प्रहरीले चेकजाँच गर्नेक्रममा सामान्य बिरामी देखिए भित्रन नदिने रणनीति लिएको छ ।

झट्ट हेर्दा एम्बुलेन्स नै प्रयोग गर्नुनपर्ने अवस्थामा रहेका बिरामी बोक्ने एम्बुलेन्सलाई काठमाडौं प्रवेशमा रोक लगाइएको नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

प्रहरीले एम्बुलेन्समा चेकजाँच गर्न थालेपछि हामी नाकामा पुग्दा एम्बुलेन्समा रहेका कतिपय बिरामीले आफू गम्भीर बिरामी भएको बताएका छन् । क्यामेरा देख्नासाथ बिरामीको बहाना गर्नेहरु पनि प्रशस्त भेटिए ।

गम्भीर प्रकृतिका बिरामीभन्दा सामान्य बिरामीको बहानामा सर्वसाधारण काठमाडौं आउनेक्रम बढेसँगै प्रहरीले जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सवारी–साधन अनुमति पासमा पनि कडाइ गरेको छ ।

सरकारले अत्यावश्यक सेवा प्रदायकलाई आवत–जावत गर्न अनुमति दिएपनि पछिल्लो समय एम्बुलेन्ससमेतको दुरुपयोग बढेको छ ।

विभिन्न बहानामा काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानीय निकायका जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण पनि गराइसकेका छन् ।

तर, सरकारले अबपनि जिल्ला प्रशानस कार्यालयले उपलब्ध गराउने पासको ‘मोडालिटी’मा फेरबदल नगर्ने हो भने विभिन्न जिल्लामा कोरोनाका संक्रमित थपिनेक्रमसँगै काठमाडौं भित्रनेहरु अझै बढ्ने खतरा छ ।

भिडियो हेर्नुहोस्