Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार


39
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

राखेपले पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको हो ।

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए ।

बक्सिङका तीनैले युएइमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए । सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन् ।

एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भणडारी, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले ५०–५० हजार नगद पुरस्कार पाए ।

उनीहरूलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, कार्यक्रम संयोजक एवं राखेपकी सदस्य चन्द्र बदना राईले एक कार्यक्रमबीच पुरस्कृत गरे ।