Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


मधेश प्रदेशमा बजेट खर्च न्यून


39
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको हो ।

आर्थिक कार्यविधि नियमावली अनुसार शनिबार राति १२ बजेदेखि चालु आर्थिक बर्षको भुक्तानी निकासा बन्द गरिएका कारण केही मन्त्रालयको योजना सम्पन्न भए पनि करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ ९ अर्ब ३२ करोड ५६ लख ८२ हजार तथा पुँजीगततर्फ ८ अर्ब ४३ करोड ७९ लाख ९३ हजार खर्च भएको गिरीले जानकारी दिनुभयो । उहाँले मन्त्रालयतर्फ सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६५.१६ प्रतिशत र सबभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले १५.७० प्रतिशत मात्र खर्च गरेको बताउनुभयो ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गरिएको छैन ।