चिनियाँ काेषले नेपालकाे विकासमा सहयाेग पुग्ने लिउकाे भनाइ « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


चिनियाँ काेषले नेपालकाे विकासमा सहयाेग पुग्ने लिउकाे भनाइ

अन्तरदेशीय ट्रान्समिसन लाइन बनाएर स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने मन्त्री भुसालकाे विश्वास

156
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।

नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताउनुभयो ।

प्रमुख लिउले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताउनुभयो ।

लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले चीनले नेपालको औद्योगिकरण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि बताउनुभयो ।