काठमाडौं, वैशाख २३ । प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा पाँचौं मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट जोखिम र यसबाट सुरक्षित रहन ‘लकडाउन’को आदेश पालना गर्दै नेवार पत्रकारहरुको राष्ट्रिय संंगठन नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गर्दै आएको र्याली, धर्मादित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण, सभा तथा मातृभाषा सम्मेलन स्थगित गरिएको छ ।
त्यस्तै, पत्रकार राष्ट्रिय दबूको ललितपुर शाखाबाट दिइँदै आएको धर्मादित्य पत्रकारिता पुरस्कार घोषणा कार्यक्रम पनि स्थगित गरिएको छ ।
स्थगित गरिएको मातृभाषा पत्रकारिता सम्मेलन र धर्मादित्य पत्रकारिता पुरस्कार सापेक्ष समयमा आयोजना गरिने जनाइएको छ ।
राणाकालमा मातृभूमिमा बसेर आफ्नै भाषाबाट लेख्ने, प्रकाशन गर्ने, प्रचार गर्ने वा मातृभाषा विकास र विस्तारका लागि गरिने हरेक गतिविधिलाई अपराधसरह मानिन्थ्यो ।
सोही समय अर्थात् ने.सं. १०४५ (९५ वर्षअघि) बुद्धजयन्तीदेखि भारतको कोलकाता पुगेर धर्मादित्य धर्माचार्यले ‘बुद्ध धर्म्म’ नाउँको धार्मिक पत्रिका प्रकाशन गरेका थिए ।
त्यसको दुई वर्षपछि सोही पत्रिकालाई ‘बुद्ध–धर्म व नेपालभाषा’को नाउँमा धर्म तथा साहित्यिक पत्रिकाको रुपमा सम्पादन गरेका धर्माचार्य ने.सं. १०२२ बछलाथ्व चतुर्दशीमा ललितपुरको सप्तपुर महाविहार, चिकंबहीमा जन्मेका थिए ।
उनले नेपाली भाषाको ‘हिमाली बौद्ध’, अंग्रेजी भाषाको ‘बुद्धिष्ट इण्डिया’ पत्रिकासमेत प्रकाशन गरेका थिए ।
उनलाई नेपालका बौद्ध जगतका प्रथम सुधारवादी व्यक्तित्व, किन्दो विहारका जीर्णोद्धारका मुख्य आयोजक, नेपालमा बुद्धजयन्ती मनाउने प्रचलन सुरु गरेका व्यक्ति, काठमाडौं उपत्यकामा बुद्धधर्म उद्धार संघ, बुद्धोपासक संघ, बुद्धोपासिका संघ बनाएका, कोलकातामा नेपाली बुद्धमार्गी संघ बनाएका, दार्जिलिङमा कन्या विद्यालय सञ्चालन गरेका, कालिम्पोङमा उपासक संघ बनाएर पुस्तकालय सुरु गरेका, कोलकाता र पटनास्थित विश्वविद्यालयमा नेपालभाषा अध्यापनको प्रयास गरेका व्यक्तिको रुपमा चिनिन्छ ।









प्रतिक्रिया दिनुहोस्