Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अनलाइन सम्मेलनमा ओलीले भने- विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र  एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् ।

सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भाइरसलाई पराजित गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प नभएको स्पष्ट पारे ।

उनले यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुर्ने  र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पु¥याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्नेमा जोड दिए ।

कोभिड –१९ विरुद्ध एकताको विषय दिइएको सो सम्मेलनमा प्रस्ताव गरिएको कोरोनाविरुद्ध असंलग्न राष्ट्रका आवश्यकता समावेश गरी तथ्याङ्कीय आधार निर्माण गर्न असंलग्न राष्ट्रहरुको कार्यटोली गठनको प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनले सदस्य मुलुकका सहयोगी कार्यमा समन्वय गर्न र विश्वव्यापी ऐक्यबद्धताको भावनानुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्न  आह्वान गरे ।

विश्वका १२० मुलुक आबद्ध नामले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा गरीबी, अस्वस्थता र अल्पविकसित अवस्थाविरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभाउनुपर्नेमा जोड दिँदै उनले यो विद्रोह तथा लडाइँमा संलग्न हुने  समय होइन भने ।

उनले संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्ने पनि स्पष्ट गरे ।

“यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ । साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ । अहिले मानवता जोखिममा  छ ”, प्रधानमन्त्री ओलीले भने ।

कोरोनाविरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनामा अध्यक्ष इल्हम अलियेबले गर्नुभएको पहललाई नेपालका तर्फबाट स्वागत गर्दै प्रधानमन्त्री ओलीले नामका सदस्य राष्ट्र सबैलाई एक ठाउँमा ल्याउन गर्नुभएको पहलका लागि उनलाई धन्यवाद दिएका थिए । सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष अलियेभले गरेका थिए ।

संवादमा विश्वव्यापी महामारी कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका मुख्य मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी थिए ।

नाम विश्वका कुनै पनि शक्ति पक्षसँग संलग्न नभएका १२० मुलुकको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।