अर्बको हेरोइन ढलमा नष्ट : पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


अर्बको हेरोइन ढलमा नष्ट : पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट


1.534k
Shares

काठमाडौं । गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ । बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।

बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त्यसैअनुसार उक्त लागूपदार्थ लागूऔषध नियन्त्रण ब्युरो तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र काठमाडौँ जिल्ला अदालतले बरामद हेरोइनको नमुना सङ्कलन गरी सुरक्षित राखेर बाँकी पानीमा घोलेर ढलमा बगाइएको हो । लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा बरामद लागूऔषध नष्ट गर्दा बढीमा तीन ग्राम अनुसन्धान गर्ने निकाय, मुद्दा हेर्ने अधिकारी र मुद्दा अनुसन्धान गर्ने निकायले सुरक्षित राखी नष्ट गर्ने व्यवस्था छ ।

पक्राउ परेका अभियुक्तलाई अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको १५ दिनभित्र स्थानीय जनप्रतिनिधि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा जिल्ला प्रशासन कार्यालयका अधिकारीको रोहवरमा प्रहरीले बरामद लागूऔषधको प्रकृति हेरी पर्यावरणमा असर नपर्ने गरी नष्ट गरिने गरिएको हो । ब्युरोका सहनिर्देशक तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बरामद भएको हेरोइन कानुनी प्रक्रिया पूरा गरी सरोकारवाला निकायको रोहवरमा नष्ट गर्ने गरिएको बताउनुभयो ।

नेपालमा बर्सेनि ठूलो परिमाणमा गाँजा, चरेस तथा अफिमको उत्पादन हुने गरेको छ । दोस्रो मुलुकबाट नेपालहुँदै अफिम कोकिनको तस्करीका घटना बढ्दै गएका छन् पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार प्रहरीले देशभरबाट ५० हजार केजी लागूऔषधसहित २७ हजार ९८५ जना कारोबारी तथा भरियालाई कानुनी दायरामा ल्याएको छ । ब्युरोका अनुसार पाँच वर्षको अवधिमा बरामद गरिएको ३९ हजार ९७४.६८३ केजी गाँजा, ११ हजार ८७५.५५९ केजी चरेस, ११० केजी १८ ग्राम हेरोइन, ५३८ केजी ९२२ ग्राम अफिम तथा २५.७५४ केजी कोकिन नष्ट गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।