बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू


117
Shares

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज बिहीबार मतदान सुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान गरिएको हो ।

मतदान बिहान ७ बजेबाट सुरू भएको छ ।

मतदानका लागि नगरको सुरक्षा कडा पार्दै सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ  ।

सुरक्षा स्रोतका अनुसार मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्तीसमेत गरिरहेका छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो ।

बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ  । १० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  ।

१० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।