Logo ४ माघ २०८२, आइतबार | Mon Jan 19 2026


माओवादीले तत्काल मन्त्री नपठाउने


286
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ।

बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन्। उनीमाथि छानबिनका लागि संसदीय समिति बनेकाले त्यसले आफ्नो काम नसकेसम्म माओवादी केन्द्रले शर्माका ठाउँमा नयाँ मन्त्री नपठाउने माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्। ‘छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीले अर्थ मन्त्रालयमा नयाँ व्यक्ति पठाउँदैन,’ माओवादी नेता लीलामणि पोखरेलले भने।

छानबिन समितिले शर्मालाई दोषी ठहर गरे मात्र पार्टीले अर्थमन्त्रीमा अर्काे व्यक्तिलाई पठाउने उनले बताए। छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीबाट सरकारमा नेतृत्व गर्ने वरिष्ठ मन्त्रीलाई नै अर्थ मन्त्रालयको पनि जिम्मा दिइने उनको भनाइ थियो। तर शर्माको राजीनामासँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीले राजीनामा दिएको अवस्थामा बुधबारै अर्थमन्त्रीको समेत कार्यभारको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन्। हाल माओवादीबाट सरकारमा सहभागीमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सबैभन्दा वरिष्ठ मन्त्रीका रूपमा रहेकी छन्। उनी सरकारमा पनि चौथो वरिष्ठ मन्त्री हुन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।