Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चन्द्रागिरि केबलकारमा फसेका यात्रुको उद्धार


2k
Shares

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए ।

यस घटनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारको डिब्बाभित्रै करिब एक घण्टा अड्किनुभएको थियो । अध्यक्ष तिमिल्सिना भाइ र परिवारसहित घुमघामका लागि चन्द्रागिरि पुग्नुभएको र सोही क्रममा केबलकार बन्द भएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । परिवारसहित छुट्टी मनाउन चन्द्रागिरि पुग्नुभएका तिमिल्सिनाको परिवार बिहीबार फर्किने कार्यक्रम छ ।

केबलकार बन्द भएपछि बीचमा अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेसनसम्म पुर्‍याउने प्रयास गरिएको थियो तर आन्तरिक विद्युत् प्रणालीले काम नगरेपछि झन्डै एक घण्टा यात्रु बीचमा अड्किएका थिए । झन्डै एक घण्टाको प्रयासपछि वैकल्पिक ऊर्जाबाट केबलकार विस्तारै सञ्चालन गरी स्टेसनसम्म पु-याइयो तर त्यसपछि पनि पुनः केबलकार बन्द भयो ।

केबलकार नचलेपछि चन्द्रागिरिको डाँडामा पुगेका यात्रुलाई सकुशल उद्धार गर्न एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चिकित्सक तथा नर्ससहित उद्धार टोली परिचालन गरिएको छ । केबलकार नचल्दा चन्द्रागिरिको डाँडामा ४३६ यात्रु फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले चन्द्रागिरिको डाँडामा फसेका यात्रुलाई मकवानपुरको चित्लाङ हुँदै उद्धार गरिएको जानकारी दिनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।