धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


धितोपत्र बोर्डद्वारा ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज

'अब योग्यता पुग्ने जोकोही धितोपत्र ब्रोकर बन्न पाउने गरी नियमावली संशोधन'

377
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै योग्यता पुग्ने सवैका लागि धितोपत्र ब्रोकर बन्ने विकल्प खुला गरेको छ ।

धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सको आवेदन खुला गर्ने व्यवस्था लागु गर्ने प्रस्ताव गरेको हो ।

बोर्डले तीन तहका धितोपत्र दलाल रहने प्रस्ताव पनि गरेको छ । जसअनुसार सीमित दायराको धितोपत्र दलाल सेवा, पूर्ण दायराको दलाल सेवा र धितोपत्र व्यापारी रहने छन् ।

तीनै तहका दलाल सेवाका लागि फरक फरक चुक्ता पूँजी र अनुमति दस्तुर तोकिएको छ । हाल काम गरिरहेका ब्रोकरहरु सिमित दायराको दलाल सेवामा पर्ने छन् भने उनीहरुले दुई वर्षभित्र चुक्ता पूँजी २ करोडबाट बढाएर २० करोड पुर्‍याउनु पर्नेछ । यस्तै पोर्टफोलियो म्यानेजमेन्ट, लगानी परामर्श र मार्जिन लेण्डिङ समेत गर्ने पूर्ण दायराको ब्रोकरको चुक्ता पूँजी ६० करोड हुनु पर्नेछ ।

हाल कामय रहेका ब्रोकरहरुले पनि पूर्ण दायरामा स्तरोन्नती गर्न पाउने छन् । यस्तै, मार्केट मेकर र स्टक डिलरको काम गर्ने गरी धितोपत्र ब्यापारीको लाइसेन्स लिन एक अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ । सिमिति कारोबारका ब्रोकरको अनुमति लाइसेन्स दस्तुर २५ लाख, पूर्ण दायराको ब्रोकर दस्तुर ५० लाख र धितोपत्र ब्यापारीको दस्तुर एक करोड रुपैयाँ तोकिएको छ ।

बोर्डले प्रस्ताव गरेको नयाँ व्यवस्थाले योग्यता पुग्ने जो कोहीले धितोपत्र दलाल बन्न पाउने छन् भने धितोपत्र दलालका लागि हुने दलाली पनि अन्त्य हुनेछ ।