
काठमाडौं । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।
२०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमाको विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनुभएकोे कोभिड–१९ निर्देशक समितिको बैठकमा कोरोना सङ्क्रमणको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ स्थापना गर्न उहाँले निर्देशन दिनुभएको थियो । यस्तो निर्देशन गत वर्षको पुस महिनामा दिइएको थियो ।
‘होल्डिङ सेन्टर’ निर्माणका लागि सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासासमेत भएको थियो तर सो आर्थिक वर्षमा काम हुन नसक्दा सेनाले सो रकम फिर्ता ग-यो । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्ले नेपाल–भारत सीमाको विभिन्न आठ ठाउँमा ‘होल्डिङ सेन्टर’ निर्माण गरेकोमा अहिले सात स्थानको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देहीको बेलहियामा निर्माण स्थलको व्यवस्था नभएका कारण २०७८ पुस १ गतेको निर्णयले सो ठाउँमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने कार्यक्रम नै रद्द गरिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्