
काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिनुभएको छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले सरकारले लागू गरेका स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यका विषयमा सहसचिवको नेतृत्वको अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ्ने बताउनुभयो ।
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने कुनै मेकानिजमविना लागू भएकाले विवाद भइरहेको बताउनुभयो ।
उहाँले स्मार्ट लाइसेन्स, इम्बोस्ट नम्बर प्लेट वितरणको औचित्य र सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताउनुभयो ।
भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उहाँले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहेर्ने बताउनुभयो ।
रुग्ण आयोजनाहरूलाई शून्यमा झार्न के गर्नुपर्छ भन्नेकुरा अध्ययन प्रतिवेदन आएपछि काम गर्ने बताउनुभयो । उहाँँले १५ दिनमा दुईवटा समितिको प्रतिवेदन आएपछि मात्रै एक्सनमा उत्रने बताउनुभयो ।
मन्त्री राईले पूर्वाधार पुल/पुलेसा लगायत विकास निर्माणमा व्यवस्थापनका लागि वर्षे, टुक्रे योजनामा खर्च देखाउने हिसाबले मात्रै नभएर परिणाम देखिने गरी रुग्ण आयोजनाहरूलाई समेत शून्यमा झार्नुपर्ने बताउनुभयो ।
नवनियुक्त मन्त्री राई फरक ढङ्गले काम गरे केही सुधार गर्ने पक्षमा देखिनुभएको छ ।
मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले प्रस्ताव गर्नुभएको राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णयसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्नेगरी मस्यौदा बनाउन निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्