२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेस–एमालेबाट गठबन्धनको प्रस्तावः ठाकुर


975
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी संसदीय निर्वाचनमा गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रस्ताव आएको बताएका छन्। पार्टीको कार्यकारिणी समितिको बैठकमा कुन पार्टीसँग गठबन्धन गर्न उपयुक्त हुन्छ र कसरी अघि बढ्ने भनेर उनले रायसल्लाहसमेत मागेका थिए। पछिल्लो समय ठाकुर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवाद र छलफलमा छन्।

‘बैठकमा अध्यक्षज्यूले चुनावी गठबन्धन बनाउन नेपाली कांग्रेस र एमाले दुवै दलबाट प्रस्ताव आएको र कुन दलसँग सहकार्य गर्न उपयुक्त हुन्छ भनी हामीसँग सल्लाह माग्नुभयो,’ बैठकपछि लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले भने, ‘भोलि (आइतबार) बस्ने अर्को बैठकमा यसबारे विस्तृत छलफल गर्नेछौं।’ लोसपाले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको भन्दै ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए।

लोसपाले अगामी संसदीय निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने या सत्तारूढ गठबन्धनसँग मिलेर अघि बढ्ने भन्नेमा निष्कर्ष निकाल्ने भएको छ। कार्यकारिणी सदस्य झाका अनुसार शनिबार बसेको बैठकमा पार्टीको विधानबारे पनि छलफल भएको थियो। विधानमा कार्यकारिणी, केन्द्रीय तथा अन्य समितिहरूमा कति सदस्य राख्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ। लोसपाले अहिलेसम्म केन्द्रीय समिति गठन गर्न सकेको छैन। निर्वाचन आयोगमा बुझाएको कार्यकारिणी समितिबाहेक अरू कुनै समिति पार्टीले गठन गर्न सकेको छैन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।