राज्यमन्त्री वलीलाई बचाउँदै मुख्यमन्त्रीलाई बुझाइयो छानविन प्रतिवेदन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


राज्यमन्त्री वलीलाई बचाउँदै मुख्यमन्त्रीलाई बुझाइयो छानविन प्रतिवेदन


676
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका–५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानविन गर्न बनेको समितिले वलीको बचाउसहितको प्रतिवेदन मुख्यमन्त्रीलाई पेश गरेको छ ।

समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले राज्यमन्त्री वलीलाई बचाउ गरेको प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार बुझाएका हुन् ।

प्रतिवेदनमा विमला र एकराजबीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको स्रोतले जनाएको छ । एउटै राजनीतिक दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको भनिएको छ ।

विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको र विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दै सरकारले कडा रूपमा सचेत गराउनुपर्ने समितिको राय छ ।

यसका साथै, प्रतिवेदनमा एकराज बस्नेत पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेको जस्तो शंकास्कापद रहेकोले थप छानविन गर्नुपर्ने उल्लेख छ ।

एकराजले फोनमा घरमै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ ।

राज्यमन्त्री वलीले जेठ ३१ गते विहान सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएकी थिइन् । घटनापछि बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने जानकारी दिनुभयो ।