Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


‘दाहाल र नेपाल पक्षको रणनीतिलाई विफल पार्न हस्ताक्षर अभियान’


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, वैशाख १८ । राजीनामाको दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा आफूलाई बलियो देखाउन सांसदहरुको हस्ताक्षर संकलन अघि बढाएका छन् ।

नेकपाभित्र बहुमत सांसदको साथ आफूसँग छ भन्ने प्रमाणित गर्नसके तत्कालका लागि स्थायी कमिटी बैठक टार्न सकिने र विरोधीको दबाबलाई मत्थर पार्नसक्ने ओली पक्षको बुझाइ छ ।

सचिवालयका सदस्यहरुले नै हाकाहाकी राजीनामा मागेपछि दबाबमा परेका प्रधानमन्त्री ओलीले पनि आफ्नो शक्ति देखाउन सांसदहरुको हस्ताक्षर अभियानलाई तीव्रता दिएका छन् ।

संसदमा विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए त्यसमा आफ्नै दलका सांसदहरु पनि सामेल हुन्छन् कि भन्ने डर ओलीमा छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालले स्थायी कमिटीमार्फत् संस्थागत निर्णय गरेरै राजीनामा माग्नसक्ने खतरा देखेपछि ओली संसदीय दलमा आफ्नो बहुमत देखाउन सांसदहरुको हस्ताक्षर अभियानलाई प्राथमिकता दिएका छन् ।

संसदीय दलमा बहुमत पुगे राजीनामा माग्नेहरुलाई तह लगाउन सकिने ओली पक्षको बुझाइ छ ।

पूर्वमाओवादी खेमाका केही सांसदहरु पनि हस्ताक्षर अभियानमा जोडिएपछि प्रधानमन्त्री ओलीको मनोबल बढेको छ ।

उनले सचिवालयका नेताहरुलाई स्थायी कमिटीभन्दा संसदीय दलको बैठक बोलाउन जोड गरिरहेका छन् ।

हस्ताक्षर संकलनको अगुवाइ गरिरहेका प्रधानमन्त्री ओलीका विश्वासपात्र सांसद महेश बस्नेत दाहाल र नेपाल पक्षको रणनीतिलाई विफल पार्न आफूहरुले सबै सांसदहरुलाई एकजुट बनाएको बताउँछन् ।

यता, ओलीइतर पक्षले भने हस्ताक्षर अभियानलाई औचित्यहीन भनेको छ । पार्टीले प्रधानमन्त्री बनाएकाले ओलीले स्थायी कमिटी बैठकलाई नै सामना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

ओली पक्षले अहिले आफूहरुसँग ९२ सांसदको साथ रहेको भन्दै यो संख्या १०० नाघ्ने दाबी गर्दै आएको छ ।

सांसदहरुको हस्ताक्षर अभियानले प्रधानमन्त्री ओलीको कुर्सी जोगाउँछ कि जोगाउँदैन त्यसका लागि थप केही दिन प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।