Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अब परिवर्तनकै लागि आन्दोलन गर्नुपर्दैन : सुवास नेम्वाङ


26
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो ।

संविधान जारी भएसँगै देशको शक्तिको रूपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताउनुभयो । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन, जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ ।’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दल पनि संविधान अनुसार नै चल्नुपर्ने बताउनुभयो ।