
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नौ महिनापछि बुधबार बसेको छ । समिति सभापति नहुँदा यो बैठक गत असोजदेखि बस्न सकेको थिएन । समितिमा नयाँ सभापतिको निर्वाचन पनि गरिएको थिएन । सभापति नहुँदा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराएर समितिले आफ्नो क्षेत्राधिकारको काम पनि गर्न सकेको थिएन । प्रतिनिसभाले गत असार ७ गते सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि समितिमा पठाएपछि बुधबारमात्र बाध्यकारी अवस्थामा यो समितिको बैठक बसेको हो ।
सभापति नहुँदा समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने नियम भएकाले बुधबारको बैठकमा समितिमा ज्येष्ठ सदस्यको रूपमा नेकपा एकीकृत समाजवादीका मुकुन्द न्यौपानेले अध्यक्षता गरेका थिए । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको संशोधनकर्ता सांसदसँग छलफल गर्नका बैठक बोलाइएको थियो। बैठकमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित थिए ।
संसद्को नियमावलीको नियम १७४ को नियम ५ मा समितिको सभापतिको पद रिक्त हुन आएमा समितिको बैठक बसेको एक महिनाभित्र पूर्ति गरिने भन्ने व्यवस्था छ । नियमावली बमोजिम जाने हो भने बुधबार समितिको बैठक बसेकाले अब आगामी साउन १५ भित्रमा सभापतिको निर्वाचन गर्नुपर्ने हुन्छ । राज्य व्यवस्था समितिमा तत्कालिन नेकपाभित्र माओवादी खेमाबाट शशी श्रेष्ठ सभापति भएकी थिइन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्