Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


आगामी तीन दिन भारी वर्षा हुने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

प्रभावित क्षेत्रका २० लाख मानिसलाई एसएमएसमार्फत जानकारी दिइयाे

2.9k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो ।

जोशीले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो ।

‘तराईका लगभग सबै खोलाहरूमा बाढी आउने पूर्वानुमान गरेका थियौं, सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ, खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’

मनसुन सुरु भएदेखि नै आफूहरूले प्रभावित हुने क्षेत्रहरूमा बसोबास गर्ने २० लाख नागरिकलाई एसएमएसमार्फत जानकारी गराइसकिएको बताउँदै जोशीले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको अवस्थामा सतर्क हुन आग्रह गर्नुभयो ।