Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


ओली–नेपाल सम्बन्ध


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, वैशाख १७ । पद संकटमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको मन पगाल्न अनेक प्रयत्न गरिरहेका छन् ।

विगतमा ओलीले गरेको अपमानजनक व्यवहार र छलछामका कारण नेपाल सहजै ओलीको काँध थाप्न मानिरहेका छैनन् ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले करिब १४ वर्ष तत्कालीन एमालेको कमान्ड सम्हाले ।

त्यतिबेलादेखि नै नेपाल र अर्का नेता केपी शर्मा ओलीबीचको सम्बन्धमा उतार–चढाव रहँदै आएको पाइन्छ ।

पार्टी एकीकरणपछि बनेको नेकपाको अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पछिल्लो समय नेपाललाई निकै अपमान गरेको तथ्यहरु पटक–पटक बाहिर आएको छ ।

ओलीले दाहालसँग मिलेर पार्टीको तेस्रो मर्यादाक्रममा झलनाथ खनाललाई ल्याएर नेपाललाई चौथोमा झारिदिएपछि नेपाल निकै चिढिए । यो अपमानजनक व्यवहारप्रति नेपालले पार्टीभित्र असहमतिहरु राख्दै आएका छन् ।

संघीय मन्त्रिपरिषद् गठन, प्रदेशको मुख्यमन्त्री चयन, पार्टीको सचिवालय, स्थायी समिति गठन र प्रदेश इन्चार्जमा समेत ओलीले नेपाललाई पन्छाउँदै अगाडि बढे ।

ओलीले एकलौटी निर्णय लिएको भन्दै नेता नेपालले प्रदेशप्रमुखको सिफारिसमा पार्टीभित्र ‘नोट अफ डिसेन्ट’ नै लेख्नुपर्‍यो ।

उसो त पार्टीको विभाग तथा जनवर्गीय संगठन गठनमा पनि ओलीले नेपाललाई ‘बाइपास’ गरे ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली वरिष्ठ नेता नेपालप्रति यति असहिष्णु बनिदिए कि स्वास्थ्य उपाचारका लागि सिंगापुर जानुपूर्व सचिवालय बैठकमा नेपालले स्वास्थ्यलाभको कामना गर्दा त्योसमेत अस्वीकार गरिदिए ।

ओलीका यी र यस्ता अपमानजनक र राजनीतिकरुपमा पन्छाउने व्यवहारबाट दिक्क बनेका नेपालले पार्टीमा एक व्यक्ति एक पद, सर्वसम्मत् निर्णय, विधि र प्रक्रियाको लागि लिखितरुपमै माग गरे ।

तर, ती केहीको सुनुवाइ नभएपछि ओलीले संकटका बेला गुहार माग्दासमेत नेपालको मन नपग्लिएको नेकपाका जानकारहरु बताउँछन् ।

सामान्यता विवादभन्दा सहमतिमा अगाडि जान खोज्ने प्रवृत्तिका नेता नेपाललाई ओलीले यसबीचमा धेरै आश्वासनहरु दिएर पूरा नगरेको गुनासो नेपालले गर्ने गरेका छन् ।

यही कारण ‘अर्लि’–महाधिवेशनमार्फत् अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेपनि नेपाल उधारो सहमतिमा ओलीलाई काँध थाप्न तयार नभएको देखिन्छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको तानातानमा परेका नेपालले अब चाल्ने कदमले संकटमा फसेका ओलीको प्रधानमन्त्री पद र नेकपाको राजनीतिक भविष्य निर्धारण हुनेछ ।

नेपाली राजनीतिमा नेपालले लिने निर्णय प्रतीक्षाको विषय बनेको छ ।