Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


दाहालको चरित्र


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, वैशाख १७ । माओवादी सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि जनयुद्धका कमान्डर पुष्पकमल दाहाल सधैं चर्चाको केन्द्रमा रहेका राजनीतिज्ञ हुन् ।

नेपालको राजनीतिमा दाहाललाई कतिपयले अस्थिर त कतिले चतुर राजनीतिक खेलाडीका रुपमा लिन्छन् ।

१० वर्षे सशस्त्र युद्ध गरेर राजनीतिको शिखरमा उभिएका दाहालको चर्चा र चरित्र शान्तिपूर्ण राजनीतिमा आएदेखि उस्तै छ ।

दाहालले आफ्नो अस्थिर राजनीतिक चरित्र मुलुकका दुई ठूला वाम दल एकता भएर गठन भएको नेकपाभित्र पनि पटक–पटक देखाइरहेका छन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष रहेका दाहालले आफ्नो राजनीतिक जीवनमा लिएका कतिपय निर्णयहरु विवादित, अस्थिर, प्रत्युत्पादक र दूरगामी असरपार्ने खालका छन् ।

शान्तिपूर्ण राजनीतिमा आएदेखि तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालासँग नजिक भएर दाहालले भरपूर राजनीतिक फाइदा लिए ।

तर, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति–प्रक्रियाको नेतृत्व गर्न मूख्य भूमिका निर्वाह गरेका कोइरालालाई राजनीतिको उत्तराद्र्धमा दाहालले राजनीतिक धोका दिए ।

२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएका दाहाललाई अवसरवादी नेताको रुपमा चित्रण गर्नेको संख्या पनि कम छैन ।

तत्कालीन संविधानसभामा आफ्नो दल ठूलो हुँदा–हुँदै पनि आफ्नै अहमताले प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका दाहाल त्यसपछि लगातार अन्य पार्टीमा खेलेर आफू सर्वेसर्वा हुन कुनै कसर बाँकी राखेका छैनन् ।

आफूपछि प्रधानमन्त्री बनेका एमाले नेता माधवकुमार नेपालको सरकार ‘अपदस्थ’ गरेर तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री पनि दाहाल सफल भए ।

माओवादीसमेत सहभागी झलनाथको सरकार हटाएर दाहालले पुनः आफ्नै पार्टीका नेता डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन गरे ।

भट्टराई नेतृत्वको सरकार अपदस्थ गरेर गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने काममा पनि दाहालको मुख्य भूमिका थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रो दलमा खुम्चिएपछि पनि उनको अन्य पार्टीमा चलखेल गर्ने बानी हटेन ।

संविधानसभाबाट संविधान जारी हुनासाथ सुशील कोइराला नेतृत्वको सरकारलाई हटाएर कोइराला सरकारकै सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने काम गरे ।

तर, ९ महिना नबित्दै ओली सरकारले ल्याएको आर्थिक विधेयक असफल पार्दै ओलीलाई विस्थापित गरे र कांग्रेससँग मिलेर ८ वर्षपछि आफैं पुनः प्रधानमन्त्री बन्न सफल भए ।

स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरेका दाहाल प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको बेला भने एमालेसँग टाँसिन पुगे ।

एमाले र माओवादी गठबन्धनले चुनावमा अपेक्षाकृत परिणाम ल्यायो र पूर्वसहमतिअनुसार २०७५ साल जेठ ३ गते दुई पार्टीबीच एकता भएर नेकपा गठन भयो ।

गठबन्धनअघिको सहमतिअनुसार पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भयो ।

तर, ओली नेतृत्वको सरकार गठन भएको ६ महिना नपुग्नै मन्त्रिमन्डल पुर्नगठनको कुरा उठाउन थालेका अध्यक्ष दाहाल त्यसपछि पनि समय–समयमा विभिन्न विषयहरु झिक्दै नेकपाभित्र अस्थिरता ल्याउने भूमिकामा रहेका छन् ।

हरेक निर्णयमा आफ्नो हात माथि पार्न उनी पार्टीभित्रै नेताहरु जुधाएर आफू शक्तिशाली बन्ने रणनीतिमा छन् ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद मिलाउनुको सट्टा दाहाल आफू शक्तिशाली बन्ने खेलमै लागेका छन् ।