नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थाल्यो : कमल थापा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थाल्यो : कमल थापा


39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताउनु भयो । उहाँले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको बताउनुभयो ।

अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाउनुभयो । दलका नेताहरुको कारण राष्ट्रियतासमेत खतरामा परेको बताउनुभयो । कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बीरहेको बताउनुभयो । उहाँले नेपाल विदेशी शक्तिको रणनैतिक प्रतिष्पर्धास्थल बनेको बताउनुभयो ।

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताउनुभयो । यसले नेपालीको एकताको आधार भत्काउन थालेको बताउनुभयो । यस्तै अध्यक्ष थापाले आगामी संघीय निर्वाचनमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताउनुभयो । राप्रपा नेपालका कार्यकर्ताले मिहेनत गरेर भएपनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी सबैले प्रचार प्रसार अभियान थाल्नुपर्ने बताउनुभयो ।

राप्रपा नेपालले प्रदेश स्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेण्डाहरुलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडा स्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रिय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो ।