गृष्मा राजभण्डारी र सानु माली (इमेज)
काठमाडौं, वैशाख १६ । सरकारी वकिलको कार्यालय काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
गत आइतबार समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, किशनकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण गरेको किटानी जाहेरी महानगरीय प्रहरी परिसरले लिन नमानेपछि समाजवादी र राजपाका नेताहरु मंगलबार दिउँसोे काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गर्न पुगेका थिए ।
नेताहरु उपेन्द्र यादव, महेन्द्रराय यादव, राजेन्द्र महतो, सुरेन्द्र यादवसहितको टोली बबरमहल पुगेको थियो ।
समाजवादी र राजपाका नेताहरु काठमाडौं सरकारी वकिलको कार्यालय प्रवेश गरेलगत्तै सत्तारुढ नेकपाको भातृसंगठन अनेरास्ववियुका नेता–कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिसिला यमी, आङकाजी शेर्पा र विश्वदीप पाण्डेविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न भनी ठूलो संख्यामा सरकारी वकिलको कार्यालय पुगेका थिए ।
सरकारी वकिलको कार्यालयले दुवैतर्फको किटानी जाहेरी लिन अस्वीकार गरेको छ ।
किटानी जाहेरी नलिएपछि राजपाका नेता राजेन्द्र महतोले मुलुकमा कानुन नभएको भन्दै सरकारको चर्को आलोचना गरे ।
उता, नेकपा विद्यार्थी संगठनका नेता ऐन महरले भने अपहरणको घटनालाई नाटकको संज्ञा दिए ।
किटानी जाहेरी लिन अस्वीकार गरेपछि काठमाडौं सरकारी वकिलको कार्यालयबाहिर समाजवादी पार्टी र नेकपा विद्यार्थी संगठनका कार्यकर्ताबीच नाराबाजी भएको थियो ।
झडपको सम्भावना बढेपछि सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।
बस्नेत, श्रेष्ठ र खनालले समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
डा. यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्दामा अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्