काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसले कोरोनापछि देशको समग्र अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा अर्थविद्सँग छलफल गरेको छ ।
कांग्रेसका पदाधिकारीहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसका पूर्वअर्थमन्त्री र अर्थविद्हरुसँग छलफल गरेका हुन् ।
बैठकमा राहत वितरणलाई कसरी व्यावहारिक र सहज बनाउने भन्ने विषयमा छलफल भएको छ ।
त्यसैगरी, संक्रमणपछि नेपालको अर्थतन्त्रले भोग्ने विषम परिस्थितिको विषयमा पनि छलफल भएको छ ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कोरोनापछि कृषिसम्बन्धी व्यापारलाई अघि बढाउनुपर्ने बताए ।
डा. वाग्लेले सुकुम्बासी आयोग गठन अहिलेको आवाश्यकता नभएको भन्दै कृषि, पर्यटन औद्योगीकरणमा जोड दिनुपर्ने बताए ।
अर्का अर्थविद् पृथ्वीराज लिगलले कोरोनापछि मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै तीव्र तयारीमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष्य डा. गोविन्द पोखरेलले वैदेशिक रोजगार गुमेर युवाशक्ति गाउँ फर्कने भएकोले युवालक्षित कार्यक्रम र रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार आएको सुझावलाई बुधबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्