रोमन आचार्य र राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख १६ । नेकपाभित्र दुई अध्यक्षबीच विवाद चर्कंदा नेता माधवकुमार नेपाल निर्णायक भूमिकामा देखिएका छन् ।
नेपाल निवास कोटेश्वरमा छलफल र बैठकहरु बाक्लिएसँगै दुई अध्यक्षबीच नेपाललाई प्रभावमा पार्न तानाताको अवस्था सिर्जना भएको छ ।
जब–जब नेकपामा दुई अध्यक्षबीच किचलो बढ्छ, तब प्रभावशाली नेता माधव नेपालको अग्रसरता र भूमिका बढ्छ ।
पार्टी विभाजन सहज बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ल्याएको अध्यादेशले नेकपा विघटनसम्मको बाटोमा पुग्दा नेता नेपाललाई आफ्नो पक्षमा पार्न प्रलोभन बढेको छ ।
मंगलबार बालुवाटारमा बैठक बसेर ओलीले नेपाललाई आफ्नो पक्षमा पार्न खोजेपनि बैठक विनानिष्कर्ष सकियो ।
यता, सोमबार पनि ओलीले नेपाललाई बालुवाटारमा बोलाएर प्रदेश तथा केन्द्रमा मन्त्रिपरिषद् हेरफेर गरेर शक्ति बाँडफाँटकोे प्रस्ताव गरेका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई प्रधानमन्त्री बनाउने आश्वसन दिएर आफू शक्तिसम्पन्न एकल अध्यक्ष बन्ने प्रयास गरिरहेका छन् ।
नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्त नेकपाको विवाद समाधानमा नेपालको महत्वपूर्ण भूमिका निर्णायक रहेको दाबी गर्छन् ।
ओलीले पार्टीभित्र थप भूमिका दिने बचन दिएपनि नेपाल भने उधारो सहमति नगर्ने मनस्थितिमा पुगेका छन् ।
पार्टी एकीकरणदेखि नै वरीयताक्रममा धोका पाएका नेपालले ओलीलाई ‘एमसीसी’, सभामुख चयन प्रकरणलगायतका विषयमा पनि साथ दिएको देखिँदैन ।
यता, दाहालबाट पनि पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने सहमति गरेर धोका खाएका नेपाल अब कोप्रति नजिक होलान् ? भन्ने प्रश्न उठेको छ ।
नेता नेपाल स्थायी समितिमा निर्णायक बन्ने भएकाले पनि स्थायी समिति बैठक बोलाउनअगावै अध्यक्षद्वय नेपाललाई आफ्नो पक्षमा पार्न तानावाना बुनिरहेका छन् ।
शक्ति संघर्षको विषम अवस्थामा आफ्नो सामर्थ्य बुझेका नेपालले पनि उधारो सहमति गरेर फेरि धोका पाउने अवस्थामा छैनन् ।
सरकार परिवर्तनदेखि पार्टी विभाजनको अवस्थासम्म पुगे नेपालको भूमिका नै निर्णायक बन्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्