Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


साउनयता १ लाखले लिए एनओसी


650
Shares

काठमाडौं । पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा विगत दुई सातादेखि विदेशका विभिन्न विश्वविद्यालयमा गएर उच्च शिक्षा अध्ययन गर्न एनओसी लिनेको चाप थेगिनसक्नु छ।कोरोनाकालमा विभिन्न देशले विदेशी विद्यार्थीलाई भर्ना हुन बन्देज लगाएका थिए। तर हाल कोरोना कहर सामान्य हुँदै गएको छ। स्वदेशी विश्वविद्यालयमा दिनहुँ हुने बन्दहडतालका कारण बढ्दै गएको निराशाले पनि युवा विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिनुपर्ने अवस्था बनेको छ।

कोरोना कहर सामान्य बन्दै गएपछि विदेशी मुलुकहरूले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रियासमेत खुकुलो पारेका छन्। यसले गर्दा विदेशमा गएर उच्च शिक्षा हासिल गर्न एनओसी लिने युवा विद्यार्थीको चाप ह्वात्तै बढेको एनओसी शाखा प्रमुख हरिप्रसाद निरौलाले बताए। विदेशमा गएर अध्ययन गर्दा रोजगारीको राम्रो अवसर पाइने र प्राप्त शैक्षिक योग्यताको प्रमाणपत्रले विश्वबजारमा पनि मान्यता पाउने भएकाले नेपाली विद्यार्थी बिदेसिने गरेका छन्।

‘राज्यले एनओसीका लागि प्रतिविद्यार्थी २ हजार रुपैयाँका दरले राजस्व लिन्छ। यसबाट पछिलो ११ महिनामा २० करोड ५७ लाख ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ,’ प्रमुख निरौलाले नागरिकसँग भने, ‘हाल दैनिक एक हजार हाराहारीमा एनओसी जारी भइरहेको छ। सरकारले युवा जनशक्तिलाई नेपालमै पढाइसँगै रोजगारीको पनि अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्छ। युवा जमातलाई स्वदेशमै रोक्ने वातावरण अब सरकारले तत्काल तयार पार्नुपर्छ।’ निरौलाका अनुसार नेपालका विश्वविद्यालयमा पढाइने विषय अध्ययनकै लागि विद्यार्थी विदेशमा गइरहेको देखिएको छ। सरकारले नेपाली पाठ्यक्रम विश्वस्तरीय बनाउन परिमार्जन गर्नुपर्ने उनको सुझाव छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।