अक्कल कुँवर (इमेज)
काठमाडौं, वैशाख १६ । सत्तारुढ दल नेकपाभित्रको विवाद गहिरिँदै जाँदा नेताहरु संसदीय गणितको जोड–घटाउमा लागेका छन् ।
प्रधानमन्त्री नै फेर्ने तहसम्म विवाद पुगेपछि उनीहरुको ध्यान संसदीय दलतर्फ केन्द्रित भएको छ ।
पार्टीभित्र बहुमतमा रहिरहन माधवकुमार नेपाललाई फकाउने पटक–पटकको प्रयास असफल भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको जोड–घटाउमा खुलेर लागेका छन् ।
अध्यक्ष ओलीले सोमबार बालुवाटारमा आफूनिकट सांसदहरुसँग छलफलसमेत गरिसकेका छन् ।
अध्यक्ष ओलीलेजस्तै इतर पक्षका नेताहरु खुलेरै संसदीय जोड–घटाउमा नलागे पनि आन्तरिक तयारीलाई भने तीव्र पारेका छन् ।
नेकपाको संसदीय दलमा १७४ सांसद छन् । संसदीय दलमा बहुमत पुर्याउन ८८ सांसद आवश्यक पर्छ ।
ओली पक्षधर नेताहरुकाअनुसार हाल ओलीसँग ७८ जना सांसद छन् । यो आँकडालाई सही मान्ने हो भने संसदीय दलमा ओलीलाई बहुमत पुर्याउन थप १० जना सांसद आवश्यक पर्छ ।
यता, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल एक भएको अवस्थामा भने संसदीय दलमा अर्को खेमाको सहजै बहुमत पुग्छ ।
नेकपाभित्रको अहिलेको जोड–घटाउमा नेपाल निर्णायक छन् । उनी जुन पक्षसँग मिल्यो, त्यही पक्ष स्पष्ट बहुमतमा पुग्छ ।
ओतीइतर पक्षले संसदीय दलमा रहेका पूर्वमाओवादी खेमाका ५३ र नेपाल पक्षका झन्डै ४३ जना सांसद रहेको दाबीका आधारमा अंकगणितीय जोड–घटाउको आँकलन गरिरहेको छ ।
तर, पार्टीभित्र उत्कर्षमा पुगेको राजनीतिक चलखेलसँगै सांसदहरु पनि गुट परिवर्तनमा लागेका छन् ।
पूर्वमाओवादी पक्षका सांसद लेखराज भट्ट र टोपबहादुर रायमाझीले अध्यक्ष ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन नहुने अभिव्यक्ति दिएर गुट परिवर्तनको संकेत गरेका छन् ।
यस्तै, संसदीय दलमा बलियो पकड रहेका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म कुनै गुटमा खुलेर नलागेपनि पछिल्लो घटनाक्रममा अध्यक्ष ओलीको निकट रहेकाले विगतको आँकडा गलत सावित हुने सम्भावना छ ।
विवादकाबीच सांसदहरु पनि गुट परिवर्तनको दौडधुपमा लागेकाले संसदीय दलमा मतदान गर्ने अवस्था आए कसको पल्ला भारी हुन्छ, अहिल्यै भन्न सकिने अवस्था छैन ।









प्रतिक्रिया दिनुहोस्