बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन बाह्रदशी गाउँपालिकाको अभियान « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन बाह्रदशी गाउँपालिकाको अभियान


325
Shares

झापा । दक्षिणी झापाको बाह्रदशी गाउँपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान सञ्चालन गर्ने भएको छ ।

‘बालबालिकालाई विद्यालय झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ भन्दै गाउँपालिकाले घर–घरमा बाल शिक्षा चेतना अभियान सञ्चालन गर्न लागेको हो ।

प्रदेशिक संरचना अनुसार शिक्षाको अधिकार स्थानीय तहमा पुगे पनि अझै पनि झापामा १० प्रतिशत बालबालिका विद्यालयबाट टाढै छन् ।

पालिकाले भने शैक्षिक क्षेत्रमा नमुनाको रूपमा अगाडि बढ्नका लागि गाउँस्तरीय शिक्षा योजना तयार गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुखम ज्ञानबहादुर पौडेल बताउनुहुन्छ ।

आगामी आर्थिक वर्ष २०७९÷०८० देखि सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने गाउँपालिकाको नीति छ । जसले आर्थिक स्थिति कमजोर भएका अभिभावकलाई खुसी थपेको छ ।

आर्थिक रूपले विपपन्न भएकै कारण विद्यालयको पहुँच बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर गुणस्तरीय शिक्षा दिनु पालिकाको प्रधान नीति हो ।

सरकारले निर्धारण गरेको नीतिलाई आत्मसाथ गरी प्राविधिक शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्यमा आफूहरू उत्रिएको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल बताउनुहुन्छ ।

त्यसो त सामुदायिक विद्यालयमा अध्ययनरत धेरै बालबालिका अझै पनि नियमित विद्यालय आउँदैनन् । विद्यालयमा भर्ना भएका कतिपय बालबालिकाले बिचैमा पढाइ छाड्ने गरेका छन् ।

गाउँपालिकाले विद्यार्थी भर्नालाई जोड दिए पनि विद्यालय भर्ना भएका विद्यार्थीको नियमितता मुख्य चुनौती रहेको रामनगर आधारभुत विद्यालयका प्रधानाध्यापक भोला मिश्रको अनुभव छ ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शैक्षिण गुणस्तर सुधारका लागि शिक्षालाई प्राथमिकता दिएकोछ ।

तर, गरिबीको रेखामुनि रहेका अभिभावकको जीवनस्तर सुधारका कार्यक्रम नदेखिएकाले लक्ष्य प्राप्तिका लागि भने चुनौती छ ।शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने वातावरण बनाउनु आवश्यक छ ।

संघीय सरकारको लक्ष्य अनुरूपको शैक्षिक उपलब्धी हासिलका लागि झापाका १५ वटै स्थानीय तहले तदरुकता त देखाएका छन् । तर, कार्यान्यावयनको अवस्था भने पर्खनै पर्छ ।