राजा चाहिए प्रजातन्त्र पार्टी : गणतन्त्र चाहिए स्वतन्त्र पार्टी ! « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


राजा चाहिए प्रजातन्त्र पार्टी : गणतन्त्र चाहिए स्वतन्त्र पार्टी !


1.313k
Shares

चर्चित सञ्चारकर्मी रवि लामिछाने संचारकर्म छोडेर राजनीतितिर लागेका छन् । उनले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणाले आफ्नो भोट बैँक टुक्रिने डरमा पुराना दलहरूको निन्द्रा भङ्ग भएको हुनसक्छ । नेपालमा अहिलेसम्म पार्टी स्थापनाका लागि राजनीतिक दर्शनकै चुरो चाहिन्छ भन्ने पुरातन सोच एकपछि अर्को गर्दै यसरी खुल्ने पार्टीहरूसँगै क्रमशः धुमिल बन्दैछ । भारतको आम आद्मी पार्टीका नेता केजरीवालको अपेक्षाकृत सफलता र स्थानीय चुनावमा उदाएका बालेन शाह, हर्क साम्पाङ र गोपी हमालको विजयश्रीको ताजलाई देखेर आउने नयाँमा उत्साह छाएको हुन सक्छ ।

इतिहास हेर्दा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी विचारका जगमा उभिएका थिए । यो क्रम पञ्चायतको अवसानसम्मै रह्यो । पछिपछि त पार्टीहरू च्याउसरह उम्रन थाले । पुरातन सोचका जगमा साठी सत्तरी वर्षअघिदेखि चलिरहेका माउ पार्टीहरूका विचार, व्यवहार र संगठन शैली असाध्यै पट्यारलाग्दा मात्र छैनन् कि नागरिकका दैनन्दिन समस्याहरू सम्बोधनका लागि समेत आउट डेटेटजस्तै भैसकेका छन् । यस्तैमा नयाँ भन्नेहरूले वैकल्पिक पार्टी भनेर मतदाताका भावनामा खेल्न खोजेका हुन् ।

‘यतिखेर मान्छेमा छट्पटी, हुटहुटी, वितृष्णा र निराशा र व्यग्रताको चरमता हेर्दा र सुन्दा लाग्छ –भविष्यमा कस्तो राजनीतिक शक्ति र प्रवृत्तिको जन्म हुन्छ, यकिन भन्न सकिन्नँ तर सन् २०१० को दशकको भारतजस्तै वि.सं. २०८० को दशक नेपालमा काँग्रेस–कम्युनिष्ट युगको पतनको दशक हुने सम्भावना तीव्र छ ।’ समयलाई मिहीनरूपमा केलाएर राजनीतिक विश्लेषक डम्मर खतिवडा लेख्छन् ।

समयले ठूलो बद्लाव खोजेकै हो नत्र अहिले नाम चलेका नेताहरूका बोली र व्यवहारलाई हेर्ने हो भने जनताले कहीँ कतै चित्त बुझाउने ठाउँ पाएका छैनन् । देशको प्रधानमन्त्री अप्ठ्यारो नमानी भन्छन् –‘गठबन्धन सरकार भएकाले जनताले धेरै आस नगर्दा हुन्छ ।’ यो भनेको जतिसुकै सकस भए पनि तिमी जनता सहन तयार होऊ भनेको हो । यस्तो बोली देशमा कहिल्यै सुनिएको थिएन । अझै ६७ प्रतिशत नेपालीहरूको प्रमुख पेसा कृषि हो । खेतीपातीको समय भा’बेला मल छैन । कमिसनका चक्करमा नयाँ शैक्षिक सत्र लाग्यो स्कुले विद्यार्थीहरूलाई पढ्ने किताब छैनन् । पेट्रोलियम पदार्थको भाउ रातदिन बढाएको छ । विकल्पमा केही छैनन् जनतालाई राहत । तश्करहरूले सजिलै ल्याउन सक्ने तर सरकारले ल्याउन नसक्ने कस्तो हो यो रासायनिक मलको खेल ? मलसँगै मालको खेल भएको छ । केही दिनअघि धादिङमा दुईटा लोडेड मलका ट्रकबाट बोराका बोरा मल सर्वसाधारणले लुटेर आफूखुसी घर लगे । मुलुकमा बेथिति छ तर सरकार भएको नभएको केही थाहा छैन ।

नेपाली काँग्रेसका दुई चतुर युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा केही दिनअघि निर्वाचन आयोग गएर विदेशमा रहेका नेपालीहरूले उतैबाट प्रविधि प्रयोग गर्दै दिन सकिने भोटिङ् व्यवस्था मिलाउनका लागि कानुन संशोधनका प्रक्रिया बुझ्न आयोगसँग परामर्श गरी फर्किए । महामन्त्रीद्वयलाई भलिभाँती थाहा छ –अहिले कूल मतदाताको ७० प्रतिशत मतदाताहरू युवा छन् । युवा मतदाताहरू अस्थिर प्रकृतिका छन् । नयाँ खुलेका पार्टीहरूले दिएका आश्वासन र देखाएका सपनामा लोभिए भने कथम् ती युवाहरू आफ्नो पकडबाट बाहिर जाँदा संघीय र प्रादेशिक चुनावमा आफूहरूको हविगत दुर्दान्त हुनेछ । बद्लिँदो परिस्थिति विचार गरेरै थापा र शर्माले विदेशीदिएकाहरुलाई भोट हाल्न दिने सुविधाको इसू बनाएर पाइला चालेका हुन् ।
यद्यपि उनीहरूले कुनै नयाँ कुरा भने बोलेका होइनन् ।

अहिले आएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस्ता कुरा आफ्नो नीति मै बोलिसकेको छ । अहिले युवा मतदाताहरूलाई कार्यकर्ता नबनाई सबै फलोअरहरू सदस्य हुने प्रक्रिया, डिजिटल डेमोक्रेसी, राइट टु रिकल र राइट टु रिजेक्ट आदि सबै समेटेको छ । यतिमात्र होइन उसले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत भनिदिनाले जनमानसमा अधिक आस छाएको छ । पुराना पार्टीहरूले बेपारी र दुई नम्बरीसँग लिने गरेका चन्दाको गन्दा धन्दा समेत उसले नगर्ने बताएपछि एकाएक पुराना पार्टीहरू तिल्मिलाए ।

नेपालमा वैकल्पिक राजनीतिको स्पेस नभएको भने होइन तर त्यसको यात्रा सुखद् जँचेन । अभिव्यक्तिमा उस्ताद लाग्ने डा.बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ एक वर्षमै किन फोरमसँग एकीकृत हुनु पर्‍यो ? फुट विभाजनसँगै मिश्रको ‘साझा पार्टी’ किन तितरबितर भयो ? विवेकशीलले स्वअस्तित्व रक्षामा घिटिक्घिटिक् गर्नुको अन्तर्य पत्ता लगाएर समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान अब रवि लामिछानेहरू जस्ताले मात्रै गर्ने दायित्व काँधमा आएको छ । यस्तो अवस्थामा डिजिटल तामझामसाथ उदाएको रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता प्रक्रियामै विवादको चक्रव्यूहमा फँसिसकेको छ । यसलाई लामिछानेले कसरी चिर्ने हुन् त्यो भने भविष्यले देखाउने नै छ । युवालक्षित कार्यक्रम बोकेका लामिछानेको आगामी राजनीतिक यात्रा सुखद् र सफलताउन्मुख हुनेमा बुद्धिजीवीहरूले धेरै शंकाउपशंका गरेका छन् ।

‘राजनीतिको वितृष्णालाई कारण बनाएर वैकल्पिक शक्तिहरू उदाउने गरेका छन् । संसारमा वैकल्पिक शक्तिका नाममा विभिन्न व्यक्ति र दलहरू ‘वेभ’ लिएर आउने गर्छन् । धेरैजसो आउनेजाने मात्रै भएका छन् । यस्तै शक्तिहरू कमै मात्रामा सफल भएका देखिन्छन् । सफल हुनुका पछाडि कस्ता व्यक्ति आएका छन् भन्नेले गहिरो अर्थ राख्छ ।’ राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बरालले सटिक मूल्याङ्कन गरेका छन् ।

एउटा क्षेत्रको प्रख्यात व्यक्ति अर्को क्षेत्रमासमेत प्रख्यातै हुनसक्छ भन्ने कुनै कारण छैन । क्षेत्र फरक पर्दाका अवस्थामा तिनले अख्तियार गर्ने कार्यशैली, चिन्तन र जनभावना ट्याकल गर्ने तौरतरिकाले हो नेताहरू लोकप्रिय या फ्लप हुने । पञ्चायत कालमा मकवानपुरका रुपचन्द्र विष्ट, झापाका द्रोणाचार्य क्षेत्री, काठमाडौँका पद्मरत्न तुलाधर र काभ्रेपलान्चोकका गोविन्द उप्रेतीहरू सामान्यजस्ता लागे पनि जनभावना अनुकूलका कामले गर्दा सधैँ लोकप्रिय बनेका थिए । नेपालमा नीतिभन्दा पनि नेताले चाह्यो भने जनताका भावनालाई एकएक गरी केलाएर सम्बोधन गर्न सक्छ भन्ने कुरा विगत्मा देखिएझैँ अहिले समयसापेक्ष युगअनुसार त्यही विकल्प खोजेका हुन् –मतदाताले । आर्थिकसङ्कट, कृषि उत्पादनमा ह्रास, चौतर्फी मूल्यवृद्धि, बजार महँगीले थलिएको समाजलाई कसरी राह दिलाउने भन्ने एजेन्डामा यी नयाँ उदाउने पार्टीहरूको बटम लाइन जनताले पर्खिरहेका छन् । आकासमा उडेर राजनीति नहुने तथ्य रवीन्द्र मिश्रको असफलताले देखाइसक्यो । अब रविहरूले भुइँमा हिँडेरै राजनीतिक पोखरीको हिलो सफा गर्न आफूसमेत केही दसक हिलो लागेको अवस्थालाई सहन गर्नुपर्ने हुन्छ ।

रविजस्तो राजनीतिमा अनटेष्टेड युवा र परिवर्तनका खातिर जोशले भरिएका सामाजिक अभियन्तालाई एउटा निःशुल्क सल्लाह यसरी दिन सकिन्छ ‘सबै फलोअरहरू फ्रेण्ड नहुन पनि पनि सक्छन् तर सबै फ्रेण्डहरू फलोअर हुन सक्छन् । रविजी पहिले फ्रेण्डहरू बनाऊ अनि मात्र राजनीतिको लामो यात्रा तय गर । राजनीतिमा लम्बे रेसका घोडा हुनका लागि सहरी युवाहरूलाई आकर्षक गर्ने चमकदमक र विदेशिएकाहरूलाई मात्र ‘इमोसनल ब्लाकमेलिङ्’ चुनाव जित्नका लागि पर्याप्त मसला हुँदैनन् देशका दूर दराजमा दुसाध्य गरिबी र कष्ट झेलेर रहेका घेरो फाटेको टोपी लगाउने निमुखाहरू, आङ् खस्ने महिलाहरू, स्कुल जान नपाएका सिँगाने भुराहरू र बिहे भएको पन्ध्र दिन नबित्दै श्रीमति घरमा छाडेर दाल रोटी निखन्न भारतको कालापहाड जाने तमाम मतदाताहरूलाई समेट्ने जमिनी यथार्थ बोकेका डेलिभरीका कुराहरू गर्न सक्नुपर्छ जस्तै : किसानका लागि मल, बीउ, सिँचाइ, विद्यार्थीका लागि समयमै पुस्तक र गुणस्तरीय शिक्षा, गृहिणीका लागि नियन्त्रित बजार भाउ, जेष्ठ/वरिष्ठ नागरिकहरूलाई घरदैलोमै सहकारी या बैँकमार्फत् सामाजिक सुरक्षाभत्ता र सबै नागरिकलाई भत्भती पोल्ने यी पेट्रोलियम पदार्थका दीगो र सरल विकल्प सुझाउन सक्नुपर्छ । नत्र उही बाबुराम भट्टराई, रवीन्द्र मिश्र र उज्ज्वल थापाका जस्तो हविगत हुनसक्छ ।

राजनीतिका नयाँनयाँ पसल खुल्दा भीड लाग्नु कुनै अस्वाभाविक होइन तर त्यो भीड चुनावमा बन्द बाकसमा मतपत्र बनेर छिर्नु चैँ महान् हो । भीडै नाथे त नेपालमा डोजरले बाटो खनेको हेर्न पनि लाग्छन् । भीडलाई आफ्नो सम्झनु क्षणिक मुर्खता हुनेछ । यसो भनेर जन्मन चाहने विचारलाई, फुल्न चाहने फूललाई, हुन चाहने परिवर्तनलाई र झुल्कन चाहने रविलाई छेकबार हालेको चाहिँ पक्कै होइन । तपाईंको पार्टी घोषणामा देखिएका केही व्यवहारिक त्रुटिहरू सहाकरी संस्था खोल्दा समेत पनि अपनाइने हुन्छन् तर तपाईंले अपनाएका देखिएनन् ।

अझै समय छ कृपया दूर दराजका मतदाताहरूदेखि सहरी युवा र विदेशमा पसिना चुहाइरहेका श्रमिकहरूलाई समेत समेटेर दह्रो वैकल्पिक पार्टी बनाऊनुस् यहाँ पुराना पार्टीहरूले बीपी, मदन भण्डारी र माक्र्सलाई राजनीतिको कमोडिटी बजारमा होलसेलमा बेचिसकेका छन् । अब तपाईंजस्तै युवाहरू नयाँ बीपी र नयाँ मदन भण्डारी बनेर आउने हो । अहिले शुभकामनाका दुई थुँगा फूलभन्दा यहाँलाई दिन सकिने थप केही कोसेली छैनन् । नूतन विचारलाई व्यवहारमा जोड्नुस् र त्यो व्यवहारले आम मतदाताहरूलाई तपाईंको पार्टीसँग सजिलै जोडोस् यदि त्यसो भयो भने तपाईंको जीत सुनिश्चित हुन्छ नत्र स्वतन्त्र शब्दको चीरहरण गर्दै तपाईंले बठ्याइँपूर्वक पार्टीको दोकान थापेर देशैभरिबाट आउने समानुपातिक मतको भरेङ टेक्दै संसद पस्ने चाहना मात्र गर्नुभएको भन्ने कुरा जनताले छर्लङ्ग बुझेका छन् ।

कस्तो समय आयो –‘राजा चाहिए प्रजातन्त्र पार्टी : गणतन्त्र चाहिए स्वतन्त्र पार्टी !’ रोज्नु पर्ने दिन पनि जनताका लागि लोकतन्त्रमा देखिएका छन् ।