
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले पोखरा, काठमाडौं, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने व्यवस्था सरकारले मिलाउने बताउनुभयो ।
उहाँले मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले अग्रभागमा राखेको बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राख्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युतीय समस्या नै लुम्बिनी प्रदेशका उद्योगको मुख्य समस्या भएको बताउनुभयो । उहाँले बुटवल पाल्पा सडकखण्डको जोखिमले पनि उद्योगलाई नोक्सान पु¥याउँदै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्