चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गर्नुभएको हो । उहाँले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सांसद देवले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवले नागरिकताको सवालमा असहमतिका विषयहरूलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने बताउनुभयो ।

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद देवले नेपाली राजनीतिमा कुनै पनि विषयमा निर्णय गर्दा अन्तिम अवस्थामा गर्ने संस्कार रहेको भन्दै कुनै पनि निर्णय समयमै गर्नुपर्ने संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशलाई कुनै पनि बहानामा वर्गीय, जातिय र लैङ्गिक रूपमा द्वन्द्वमा जान दिनु नहुने बताउनुभयो ।