Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग


39
Shares

काठमाडाैं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

उहाँले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनामा बेपत्ताको खोजी कार्यको पछिलो अवस्थाबारे समेत सरकारसँग जवाफ माग गर्नुभयो । सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार र आम नागरिकलाई दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले बाढीपीडित परिवार आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा रहेको उल्लेख गर्नुभयो । उहाँले मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि प्रहरी संगठनले राहत घोषणा गरेजस्तै मृतकका परिवारलाई राहत र उद्धारका लागि सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गर्नुभएकाे छ ।

उहाँले भन्नुभयो, ‘जलविद्युत आयोजनाका सुरुङहरुमध्ये कति वटामा खोज र उद्धार कार्य सम्पन्न भयो ? कति वटामा जारी छ ? माथिल्लो त्रिशूली ए (२१६ मेगावाट)को खोजि कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडितहरु आफन्तको अन्तिम संस्कार गर्नको लागि डिएनए रिपोर्टको पर्खाईमा हुनुहुन्छ । परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक परिवारको राहत तथा उद्धार कार्यको लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ ? होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेखि शुरु हुन्छ ? बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल शुरु गरियोस् ।’

उहाँले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल शुरु गर्न तथा बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाका कार्यक्रम पनि तत्काल सञ्चालन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।