‘बीबीआईएन’ सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपर्‍यो : सचिव सिग्देल « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


‘बीबीआईएन’ सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपर्‍यो : सचिव सिग्देल


364
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एशियाका चारदेश बीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपरेको बताउनुभएको छ ।

संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बुधबारको बैठकमा बोल्दै सचिव सिग्देलले भुटान, बंगलादेश, भारत र नेपालका बीचमा भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपरेको बताउनुभएको हो ।

सचिव सिग्देल दक्षिण एशियामा ‘सिमलेस ट्रान्सपोर्ट’ गर्ने सम्झौता भएको र त्यसो गर्दा अंग्रेजी भाषाका अंकहरु सबै देशका संयन्त्रहरुले पढ्नसक्ने हुनाले अंग्रेजी भाषा राखिएको बताउनुभयो । सचिव सिग्देलले नेपाली भाषा पढ्ने सफ्टवेयरहरू उपलब्ध नहुने भएकाले पनि त्यसो गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन २०७३ सालमा सम्झौता गरिएको र सम्झौता गर्दा सम्बन्धित कम्पनी कालोसूचीमा नपरेको बताउनुभयो । सम्झौतापश्चात् कालोसूचीमै परे पनि तत्काल ठेक्का सम्झौता रद्द नहुने कानूनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट बनाउनका लागि सरकारको पैसा खर्च नहुने बताउनुभयो । उहाँले सम्झौता अनुरुप २५ लाख सवारी साधनमा प्रतिसाधन २ हजार पाँच सय रुपैयाँदेखि ३ हजार छ सय रुपैयाँसम्ममा इम्बोस्ड नम्बर प्लेट बनाइने बताउनुभयो ।

सो वापत् करिब ७ अर्ब ३९ करोड रुपैयाँ पैसा उठे पनि कम्पनीले करिब ४ अर्ब ६८ करोड रुपैयाँ लिने र करिब २ अर्ब ४० करोड रुपैयाँ सरकारको राजश्व उठ्ने जानकारी दिनुभयो ।

महानिर्देशक घिमिरेले विश्वमा ९५ प्रतिशत मुलुकमा इम्बोस्ड नम्बरप्लेट जडान भइसकेको बताउनुभयो । उहाँले दक्षिण एशियामा नेपालमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान नभएको उल्लेख गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्नु आवश्यक रहेको बताउनुभयो ।