काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले विदेशमा अलपत्र रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै त्यस्तो माग गरेकी हुन ।
आइतबार श्रम मंत्री रामेश्वर राय यादवलाई एक ज्ञापनपत्र पठाउंदै सांसद संग्रौलाले विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका एक सय भन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको र उनीहरूको शव यथाशिघ्र नेपालल्याई सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन माग गरेकी छन् ।
छायां श्रम मंत्री पनि रहेकी सांसद संग्रौलाले कोरोना महामारीपछि सिर्जना हुने भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्व तयारी गर्न आवश्यक छ भन्दै उनले आन्तरिक रोजगारी सृजना र प्रवर्द्धन गर्ने कार्यक्रम तत्काल ल्याउन माग गरेकी छन् ।
“मुलुक एक महिना भन्दा बढी समयदेखि पूर्ण लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्नेहरु ठूलो समस्यामा परेका छन् । सरकारले यस्ता विपन्न वर्गका लागि ल्याएको राहतमा आम श्रमजीवीको पहुंच पुग्न सकेको छैन । निम्न वर्गका मजदुरहरुका लागि तत्काल राहत प्याकेज घोषणा गरी उनीहरुलाई दिलाईयोस्,” उनले ज्ञापनपत्रमा भनेकी छन्।
न्यून आय भएका, एकल महिला, अपांग, गरीबीको रेखा मुनि रहेका तथा सीमान्त समुदायका मानिसहरुको पहिचान गरी कम्तिमा आउंदो छ महिनाका लागि न्यूनतम मासिक ५ देखि ७ हजार रुपियाँ तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन तथा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुका लागि कम्तीमा तीन महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था गर्न समेत सांसद संग्रौलाले माग गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्