आइतबार बिदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत घटेको निगमको दाबी « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


आइतबार बिदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत घटेको निगमको दाबी


988
Shares

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा ११ प्रतिशतले पेट्रोलको खपत घटेको बताउनुभयो ।

चैतमा पेट्रोलको खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगे पनि जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको उहाँले बताउनुभयो ।

त्यस्तै, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वाचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ रुपैयाँ कायम भएको बताउनुभयो ।

उहाँले निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म तेल दिन्न भन्न थालेको बताउनुभयो ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि भन्दै परीक्षणका लागि जेठ महिना आइतबार पनि सार्वजनि बिदा दिने निर्णय गरेको थियो । तर, नेपालजस्तो देशमा व्यावहारिक नभएको भन्दै पुनः असारदेखि आइतबारको सार्वजनिक बिदा कटौती गरियो ।