काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गर्नुभएको छ ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारागारमा बस्न लायक हुने उहाँको भनाई थियो ।
आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले तर यहाँ त सो घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्न आफ्नो पार्टीले गरेको मागलाई समेत सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो । बरु उल्टै सरकारले मन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई सहभागी गराएर ल्याएको बजेट हतारमा संसदबाट पारित गराएको गुनासो गर्नुभयो ।
सांसद श्रेष्ठले बजेटमा करको दर तय गर्ने काममा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई सहभागी गराएर देशकै लागि जघन्य अपराध गरेको आरोप लगाउनुभयो ।
सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई पनि जथाभावी बोल्दै हिँडने छुट दिएको भन्दैसरकारको कडा आलोचना गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्