२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीलाई समेटेर नयाँ संरक्षण क्षेत्र घोषणा


429
Shares

काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ ।

विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका बेला सरकारले उक्त डाँडालाई संरक्षित क्षेत्र घोषणा गरेको हो । सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ गते फूलचोकी क्षेत्रलाई प्रचलित कानून बमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न सरकारलाई आदेश दिएको सात वर्षपछि बल्ल संरक्षित क्षेत्र घोषणा गरिएको हो ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सीमानादेखि काभ्रेको पनौती नगरपालिका–१ र २ अन्तर्गत भर्याङ खोल्सी, साल्दुङ खोल्सी र पानीघाट खोल्सीसम्मको ५० दशमलव ५३ हेक्टर क्षेत्रलाई संरक्षित क्षेत्रभित्र समेटिएको छ । अहिले देशभर १२ वटा निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र र एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्ष क्षेत्र रहेका छन् । फूलचोकी थपिएपछि संरक्षित क्षेत्र ७ वटा पुगेका छन् ।