२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


सन्दकपूर आउन नेपाली पर्यटक भारतीय बाटो प्रयोग गर्न बाध्य


390
Shares

इलाम । तेस्रो मुलकका पर्यटकको आकर्षण रहेको इलामको सन्दकपूरबाट पाँचथर फालोट जोड्ने पर्यटकीय पदमार्गको अभाव हुँदा पर्यटकले सास्ती व्यहोर्‍दै आउनु परेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपूर–फालोट क्षेत्रमा भारतपट्टी सडक निर्माण भएपनि नेपालपट्टि पदमार्ग समेत बन्न नसक्दा हैरानी व्यहोर्नु परेको हो ।

सन्दकपूर फालोट पदयात्रा गर्दा नेपाली पर्यटकले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता ज्यूकात्यू हुँदा हैरानी व्यहोर्नु परेको छ । प्रदेश एकको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपूर पुग्ने ५० प्रतिशत पर्यटकले फालोटको पदयात्रा गर्दै आएका छन् । तर पर्यटकका लागि पदयात्रा गर्ने पदमार्ग, आवाश गृहको अभाव हुँदा पर्यटकहरुले समस्या भोग्दै आएका हुन् ।

नेपालबाटै पदमार्ग नहुँदा नेपाल भएर तेस्रो मुलुकका पर्यटकहरु सन्दकपूरबाट फालोटसम्म यात्रा गर्न सकेका छैनन् । जसका कारण यहाँको पदयात्राका लागि भारत भएर तेस्रो मुलकका पर्यटक आउने गरेका छन् । हजारौ पर्यटकहरु भारत भएर आउन बाध्य भएकाछन् । नेपालबाट पनि प्रचारप्रसारको अभाव हुँदा हजारौ पर्यटकले हैरानी व्यहोर्नु परेको हो । अझै पनि पर्यटकीय पूर्वाधारको अभाव रहेको पर्यटनकर्मी डिल्ली केरुङले बताउनुभयो छ ।

पर्यटकको आकर्षण बढेपछि सन्दकपूर फालोट क्षेत्रमा पर्यटकको बासस्थानका लागि अहिले गोठस्टेको अवधारण ल्याइएको छ । चौरीका गोठको सुधार गरी पर्यटक बस्ने व्यवस्था गरिँदै आइएको हो । ५ वर्ष अघिसम्म भारत भएर मात्रै पर्यटक पुग्दै आएपनि अहिले आन्तरिक पर्यटक पनि बाक्लीदै गएका छन् । पर्यटन प्रवद्र्धनका लागि स्थानीय संघसंस्थाले अभियान चलाएपछि पर्यटकहरुको आकर्षण बढेको हो । यहाँ पुग्ने पर्यटकहरुलाई स्थानीय क्षेत्रमा उत्पादनका परिकारहरुको स्वादमा रमाउन सकिन्छ ।

पर्यटकको आवतजावत बढेपछि फालेलुङ ४ को चाररातेमा आवश गृह निर्माणको काम पनि गरिँदै आएको छ । सन्दकपूर फालोट पदयात्राका क्रममा हिमाली दृश्य र नेपाल भारतका ग्रामीण बस्तिको अवलोकन गर्न सकिन्छ । त्यसैले पनि यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेका कारण पदमार्गलाई व्यवस्थित गर्नु अत्यन्त जरुरी भई सकेको छ ।